माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै सेनाविरूद्ध जाहेरी

माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै सेनाविरूद्ध जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै पोखराका अणनाथ बरालले सेनाविरूद्ध जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर बरालले आज तत्कालीन शाही सेनाको फूलबारी व्यारेकका सुबेदार कृष्णबहादुर गुरूङविरूद्ध जाहेरी दिएका हुन् ।

जाहेरीमा गुरूङको कमाण्डमा सादा पोशाकमा रहेका सेनाको टोलीले उनका छोरा नेत्रप्रसाद बरालसहित ४ जनालाई २०६० कात्तिक १९ गते बिहान ५ बजे पक्राउ गरी परिवारका सदस्यलाई पनि भेट्न नदिई चरम यातना दिएर बन्धक बनाइएको उल्लेख छ ।

नेत्रप्रसादसँग पक्राउ परेका अन्य तीन जनालाई भने सेनाले सार्वजनिक गरिसकेको छ। बरालले नेपालको संविधान, मुलुकी अपराध संहिता, संयुक्त राष्ट्र संघको मानव अधिकार घोषणा पत्र र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनका आधारमा छोरालाई बेपत्ता पार्नेलाई कारबाही गरी सार्वजनिक गर्न माग गरेका छन् ।

उनले २०६२ असोज १ गते राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दर्ता गराएका थिए । द्वन्द्वकालमा छोरा गुमाएका बराल र श्रीमान गुमाएकी आरती शर्माले २०७८ भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा किटानीसहित जाहेरी दिन पुगे पनि प्रहरीले द्वन्द्वकालका घटना दर्ता नगर्ने भनेर फर्काइदिएपछि उनीहरू जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर जिल्ला सरकारी वकिलको कार्यालयले समेत इन्कार गरेपछि उनीहरूले उच्च अदालत पोखरामा २०७८ मंसिर २७ गते निवेदन दिएका थिए ।

उक्त निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले २०७९ मंसिर १३ गते जाहेरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । सोही आदेशका आधारमा जाहेरी दर्ता गरेको कास्की प्रहरीले जनाएको छ ।