सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही, चार सय ६६ जनाले लिए अनुमति

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही, चार सय ६६ जनाले लिए अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यसपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार सय ६६ आरोहीले अनुमती लिएका छन् । हिमाल आरोहणका उपयुक्त समय मानिने वसन्त ऋतु लागेसंगै उल्लेख्य संख्यामा आोहीहरु सगरमाथा क्षेत्रमा पुगेका छन् ।

पर्यटन विभागका अनुसार यसपालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् ।

उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । यसरी अनुमति लिनेमा नेपालसहित ६५ देशका नागरिक रहेका छन् ।सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिए।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ ।

कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।