काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको बताएका छन् ।
शुक्रबार २५६७ औं बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको बताएका हुन्।
उनले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दाबी गरे।
समारोहमा प्रधानमन्त्री प्रचण्डले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताए।
मानव जातिले विश्वभरी आर्जन गरेका ज्ञान र दर्शन सबै मानव जातिका साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली दर्शनको वैभवशाली इतिहासलाई प्रचारप्रसार प्रवर्द्धन गर्ने काममा भने नेपाली बौद्धिक समुदायले ध्यान दिनुपर्ने बताए।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनीले विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्व आ आफ्नो धारण राखेका थिए । प्रधानमन्त्री सम्बोधन गर्नु आगाडि आज बिहान लुम्बिनीमा शान्ति र्याली निकालिएको थियो । बुद्ध जयन्ती अवसर आज भोलि विभिन्न कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ ।




प्रतिक्रिया