काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरु सरकार परिवर्तनको खेलमा मात्र लागिरहेको बताएका छन् ।
आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका दल भएको आरोप लगाएका हुन् । उनले सरकारले विकास निर्माणको काम केही पनि गर्न नसकेको दाबी गरे ।
‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’, उनले भने ।
अध्यक्ष ओलीले अहिले सम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै सत्ता गठबन्धनले राजनीतिक तामाशा देखाइरहेको बताए ।
‘अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’, उनले भने ।




प्रतिक्रिया