काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकार गठनमा सकस भएको छ । नेपाली कांग्रेसका नेता कमल शाह मुख्यमन्त्री नियुक्त भएको तीन महिना भइसक्दा पनि प्रदेश सरकार विस्तार हुन नसकेको हो ।
यसले मुख्यमन्त्री शाहको चर्को आलोचना सुरु भएको छ । मुख्यमन्त्री शाहले पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर भागवण्डा मिलाइदिन आग्रह गरेपनि अहिलेसम्म भागवण्डा मिल्न सकेको छैन ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार भागवण्डाका लागि मुख्यमन्त्री शाहसहित वैठक बसेको थियो । त्यसपछि अहिले शिर्ष नेताहरुको बैठक बसिहेको छ । बैठकमा सुदुरपश्चिम प्रदेश सरकारको भागवण्डा टुंगो लगाउने विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
मुख्यमन्त्री शाहले सरकार विस्तारको लागि छलफल गर्न प्रदेश राजधानी धनगढी छोडेर पटक–पटक काठमाडौँ पुगिरहेका छन् । सुदुरपश्चिम मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय छन् । त्यो मध्ये अहिले ४ वटा मन्त्रालय तीन महिनादेखि मन्त्रीविहिन छन् । माओवादी नेता खगराज भट्टले चांडै मन्त्रीमण्डल विस्तार हुने बताए ।
मुख्यमन्त्री शाहले सरकार विस्तारका लागि प्रयास गरेपनि मन्त्रालयको भागवण्डा नमिल्दा सरकार विस्तार हुन नसकेको हो । अहिले मुख्यमन्त्रीसहित भौतिकमा कांग्रेस सभापति देउवाका भतिजा प्रकाश देउवा र अर्थमा समाजवादीका नेता नरेश शाह मन्त्री छन् । माओवादी केन्द्रले भौतिक वा अर्थमध्ये एउटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले मंगलवारसम्म मन्त्रीमण्डल विस्तार हुने दावी गरेका छन् । उनले शिर्ष तहमा छलफलपछि प्रदेश सरकारले पूर्णता पाउने बताए ।
माओवादीले भौतिक र अर्थ नपाए तीन वटा मन्त्रालय आफुले पाउनुपर्ने दावी गरिरहेको छ । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट आफै सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । उनले अर्थ वा भौतिकमा रुची देखाएपछि समाजवादी र कांग्रेसले भने नछोड्ने अडान राखेपछि समस्या भएको हो ।
माओवादीबाट भट्टसहित ओम विक्रम भाट, झपट साउद,अक्कल रावल, रमेश धामी, लक्ष्मी विक र शिव ओली सवै मन्त्रीको दौडमा छन् । तिमध्ये भाट र धामीमध्ये एक जनालाई मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री दाहाल रहेको माओवादी स्रोत बताउंछ ।
समाजवादी र नागरिक उन्मुक्तिलाई एक एक मन्त्रालय दिने तयारी भएपनि उन्मुक्तिले दुई मन्त्रालय र राज्यमन्त्री पाउनुपर्ने दावी गरिरहेको छ । उन्मुक्तिबाट संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी मन्त्री बन्नेमा छन् । उनिहरुले दुई मन्त्रालय नपाए सरकारमा नजानेसम्मको चेतावनी दिएपछि मुख्यमन्त्री शाहलाई समस्या परेको छ ।
सुदुरपश्चिममा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल भएपनि मुख्यमन्त्रीसहित एउटा मन्त्रालय मात्र पाउने सम्भावना बढेको छ । कांग्रेसको प्रदेशसभामा १९, माओवादी केन्द्र ११, एमाले १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका १\१ सांसद छन् ।
अहिले मुख्यमन्त्री शाहलाई ४२ सांसदको समर्थन रहेको छ । विपक्षमा भने ११ जना सांसद छन् । प्रदेशसभामा दुई तिहाई बहुमत भएपनि सरकार विस्तारमा भने शाहलाई समस्या परेको छ ।




प्रतिक्रिया