बैंकको ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री महत

बैंकको ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए । उनले भने- “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ ।”

राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गरे । विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उनले प्रभावकारी ढङ्गबाट खर्च गर्ने व्यवस्था गरिने विश्वास दिलाए ।

अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएको बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री महतले भने, “मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ, यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा सकारात्मक प्रभाव पर्नेछ ।”

राजस्व चुहावट कम गर्न गृह र अर्थ मन्त्रालय मिलेर नियन्त्रण गरिने मन्त्री महतको भनाइ थियो । उनले मुलुकमा केही विकास नै नभएको भनी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भने, “प्रजातन्त्र पुनः स्थापनापछि मुलुकमा शिक्षा, स्वाास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा धेरै काम भएका छन् । तर पनि यतिले पुग्दैन । अझै धेरै काम गर्नुछ ।”