सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

सहमतिमै प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् ।

नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको-२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए।

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गरे ।

उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले भने, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”

सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरे ।