काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । बुधबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षित मानिसहरु नै छाडा र विकृति भित्र्याउन लागिपरेको बताएका हुन् ।
‘हाम्रो देश विचित्रको स्थितिमा पुगेको छ । दुनियाँमा छाडापन हेर्नपर्छ भने यहीँ देशमा देखिन्छ । नेपालमा जति छाडा र विकृति अहिले दुनियाँका कुनै देशमा छैन कि जस्तो लाग्छ’, अध्यक्ष ओलीले भने, ‘युट्युब खोलेर हेरिसक्नु छैन । खोल्यो भने कुनामा गएर हेर्नुपर्ने हुन्छ ।’, उनले भने ।
उनले सभ्यताको सुरुवात भएको नेपाल धर्तीमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार भएको बताए । ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका बोकी नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा आमाले सानैमा दिएको औंठी चार दिनजति लगाएँ । पछि त्यसबाहेक एउटा साथीले दिएको एकदिन जति लगाएँ । यति साहे झुट, यत्रो मेहनत गरेर कस्तो घटिया नियत होला ?’, ओलीले भने ।




प्रतिक्रिया