जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग भएका मुख्य सात वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गरेका छन् । उनले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गरेका छन् ।

भारतको चार दिने भ्रमण सकेर आएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई भारत भ्रमणका विषयमा जानकारी दिंदै नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको  बताए । आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको उनकाे भनाइ छ  ।

‘नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो । यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ । यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो । उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनु भएको छ । सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु,’ उनले भने । उनले नेपाल र भारतबीच पुरानो र घनिष्ट सम्बन्ध रहेको भन्दै त्यहाँका राष्ट्रपति र उपराष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल भएको बताए ।

उनले भ्रमणका दौरान विद्युतीय क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले विद्युतीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले एयर रुटका विषयमा पनि छलफल भएको बताए । उनले एउटा मात्र होइन, भारतबाट कम्तिमा तीन एयर रुटका विषयमा छलफल भएको बताए ।