काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माधव नेपालले बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका हुन् ।
उनले बजेटमा सबैजना असन्तुष्ट रहेको दावी गरे । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै बजेट सच्याउनु पर्ने बताएका छन् ।
‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सकरार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’, उनले भने ।




प्रतिक्रिया