काठमाण्डु- कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको छ । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत नेतृत्व सम्हालेका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन भएको छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ ।
यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्ट्याइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।
यस्तै कोशीका सांसदले पनि सांसद विकास कोषमार्फत बजेट पाउने भएका छन् । बिहीबार सार्वजनिक बजेटमा विवादित सांसद विकास कोस ब्यूँत्याईएको छ । त्यसका लागि प्रदेश सरकारले लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो । जसमा प्रत्यक्ष निर्वाचित सांसदले दुई करोड र समानुपातिक सांसदले एक करोड खर्च गर्न पाउनेछन् ।
यस्तै बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन् । उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन् ।




प्रतिक्रिया