आज ‘समाजवादी मोर्चा’ घोषणा हुँदै

आज ‘समाजवादी मोर्चा’ घोषणा हुँदै


काठमाण्डु – आज समाजवादी मोर्चाको घोषणा हुने भएकाे छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार (आज) समाजवादी मोर्चा घोषणा गर्ने भएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो। मोर्चाको घोषणा सोमबार दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा हुँदैछ।

मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने जनाएको छ। त्यस उद्देश्य प्राप्तिका लागि आफ्ना वैचारिक एवं राजनीतिक प्रतिबद्धताहरूलाई १५ वटा बुँदा समेटेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने उल्लेख छ।

विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता कार्यकर्ताहरूमाथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने तथा विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले र विप्लवले संयुक्तरूपमा घोषणा गर्न लागेको समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टी भने जाने नजाने अझै यकिन भइसकेको छैन।