काठमाण्डु- मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा अब साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले असार १९ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले जारी पुँजीको ८० करोड रुपैयाँको १०% अर्थात ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।
उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका- ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला भएको हो ।
स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया