काठमाण्डु- अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कोशी, नारायणी, कणर्ाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । आज पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदली तथा वर्षा हुने बताए।
अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
कर्णालीमा बढ्यो जलसतह
बबई नदीमा आएको बाढीको जलस्तर घटेपछि जनजीवन सामान्य हुँदै गएको छ । कर्णालीमामा भने पानीको बहाव बढेको छ । कर्णालीमा आज दिउँसो ९ दशमलव ५ मिटरमाथि पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए। कर्णालीमा १० मिटरमाथि पानी बगे सामान्यतः बाढीको उच्च जोखिम मानिन्छ ।
कर्णालीमा नदीले राजापुर नगरपालिका-४ दलैघाटमा कटान सुरु गरेको छ । यस क्षेत्रमा सुरक्षा निकायलाई उच्च सतर्कता अपाउन स्थानीय प्रशासनले निर्देशन समेत दिएको छ । बबईमा बाढीबाट ४ सय ८६ जनाको घर डुबानमा परेको थियो । तीमध्ये ४३ घरका २ सयभन्दा बढी मानिस विभिन्न आश्रयस्थलमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
महाकाली पुलमा चारपाङ्ग्रे सवारीमा रोक
महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । हिजो रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । हिजो रातिदेखि नै बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको हो ।
सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
देशभरका नौ राजमार्गमा अवरोध
अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् ।
पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु सडकखण्ड र मेलम्ची–भोताङ सडकखण्ड, मुगुको जुम्ला–नाग्म–मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा–दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धारकार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।




प्रतिक्रिया