काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियां जनमुक्ति सेनाको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदेबीच भेटवार्ता भएकाे छ।
बुधबार प्रधानसेनापति शर्मा र चिनियां जनमुक्ति सेनाका डेपुटी कमाण्डर यु एनदेबीच जङ्गी अड्डामा भेटवार्ता भएकाे हाे । प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको थियो ।
चिनियां जनमुक्ति सेनाको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदेकाे नेतृत्वमा ८ सदस्यीय सीमा रक्षा प्रतिनिधि टोली आजै नेपाल आइपुगेकाे हो ।
उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागर बहादुर थापाले स्वागत गरेका थिए । पाँच दिने भ्रमणको दौरानमा उक्त टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन् ।
भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम छ । त्यसका साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत भ्रमणमा छलफल हुनेछ ।
सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् ।





प्रतिक्रिया