प्राथमिकताका आधारमा प्रधानमन्त्रीको विदेश भ्रमणको कार्यसूची तयार हुँदैछ : परराष्ट्रमन्त्री साउँद

प्राथमिकताका आधारमा प्रधानमन्त्रीको विदेश भ्रमणको कार्यसूची तयार हुँदैछ : परराष्ट्रमन्त्री साउँद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउँदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न विदेश भ्रमणका कार्यसूचीहरू प्राथमिकताका आधारमा तयार भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उनले सबै मन्त्रालयबाट सुझाव आउनेक्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताए ।

उनले भने, ‘चीन भ्रमणका विषयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरिएको छ, दुईपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । के–के विषय कार्यसूचीमा रहने र कुन–कुन विषयमा सम्झौता गर्ने भन्ने विषयमा अन्तिम भएको छैन, तयारी हुँदैछ ।’

भ्रमणका विषयमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्व परराष्ट्रमन्त्रीसँग भेट गरी थप छलफल गर्ने तयारी रहेको समेत समितिलाई उनले बताए ।

समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मित्रराष्ट्रसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यलाई पनि विदेश भ्रमणमा प्रतिनिधित्व गराउनुपर्ने बताए ।

समितिका सदस्यहरू डा. धवलशम्शेर जबरा, महन्थ ठाकुर, शिशिर खनाल, प्रभु शाह, वर्षमान पुन, प्रेम सुवाल, एकनाथ ढकाल, सुनिता बराल, छिरिङ यामु लामाले प्रधामन्त्रीको आगामी विदेश भ्रमण र नेपालको कालापानी, लिम्पियाधुरा र कालापानी सहितको राजनीतिक तथा प्रशासनिक नक्सा छिमेकी राष्ट्रमा पुगेको वा नपुगेकाबारेमा जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन भदौ ३० गतेदेखि असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ भने उतैबाट चीन जाने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा दूरगामी महत्त्व राख्ने दीगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती लगायतका सवालमा सम्बोधन गर्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई संयुक्त राष्ट्रसंघका महासचिवबाट निमन्त्रणा भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औं संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउँद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव लगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी रहने जनाइएको छन् ।

प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायत प्रतिनिधि रहनेछन् ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औं उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।