काठमाण्डु – सरकारले संघीय निजामती विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धी विधेयक २०८० संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।
सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक २०८० संघीय संसद्मा पेश गर्ने निर्णय गरेको उनले बताइन् ।
यसैगरी, सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । उपाध्यक्षको सिफारिसका लागि सरकारले लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले ३ जनाको नाम सिफारिस गरेकोमा झा नियुक्त भएका छन् ।
नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन् । समितिबाट दोस्रो नम्बरमा डा. प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सिफारिस भएका थिए ।




प्रतिक्रिया