प्रधानमन्त्री अराजक भइसक्नुभयो, जातीय राज्य दिन्छु भन्नुभयो : डा. कोइराला

प्रधानमन्त्री अराजक भइसक्नुभयो, जातीय राज्य दिन्छु भन्नुभयो : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय राज्य दिन्छु भनेर अराजकता निम्त्याएको बताएका छन् ।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘हामी एकजुट भए कांग्रेसलाई हल्लाउन कसैले पनि सक्दैन । देशमा प्रधानमन्त्री अराजक भइसक्नुभयो, आदिवासी जनजाति दिवसका दिन उहाँले मलाई विजयी बनाउनुस् म जातीय राज्य दिन्छु भन्नुभयो । पार्टी अध्यक्षको रूपमा बोलेको भए ठीकै हुन्थ्यो होला तर देशको प्रधानमन्त्रीले यसरी बोल्न मिल्दैन । केही दिन अगाडि काठमाडौंको मेयरले सिंहदरबार जलाइदिन्छु भन्नुभयो । लोकरिझ्याइँले हामी अप्ठ्यारोमा पर्दैछौं ।’

निर्वाचनका बेला रास्वपा सभापति रवि लामिछानेका चालकको निधन छतबाट खसेर भएको अवस्थातर्फ संकेत गर्दै उनले अरुको ड्राइभर घरको छतबाट खसेर निधन भएको भए सामाजिक सञ्जाल रंगिने बताए ।

उनले भने, ‘आम निर्वाचनको बेला छतबाट मेरो ड्राइभर खसेर मरेको भए सामाजिक सञ्जाल कसरी रंगिन्थ्यो होला ? तर तपाईंहरू चुप लाग्नुभयो । तपाईंहरूले पनि घण्टीमा भोट हाल्नुभयो, मलाई शंका छैन । अब यस्ता गल्ती कमीकमजोरी तपाईंहरूबाट हुनुभएन । तपाईंहरू जिम्मेवार हुनुहुन्छ । जिम्मेवार पदाधिकारी भएपछि पार्टीप्रति गैरजिम्मेवार बन्न मिल्दैन ।’

पार्टीमा केन्द्रका नेताले गरेको गल्तीको सजाय स्थानीय, प्रदेश र क्षेत्रको निर्वाचनमा दिनु उचित नभएको डा. कोइरालाले बताए । उनले भने, ‘हामीबाट गल्ती भएको छ । हामीले अन्याय गरेका छौं तर त्यसको सजाय स्थानीय निर्वाचनमा केन्द्रको निर्वाचनमा दिनुभएन । यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ । लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुँदा द्वन्द्व हुन्छ । देश छिन्नभिन्न हुन्छ । यसैले व्यक्तिवादी चरित्रमा नरमाउनुस्, स्वार्थी नबन्नुस् ।’