काठमाण्डु – नेकपा एकीकृत समाजवादीले गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता राजीव गुरुङ (दिपक मनाङे) ले केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् ।
पार्टीले गरेको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनप्रति अन्य नेताहरूले पनि असन्तुष्टि जनाएका छन् । पार्टीको भदौ ५–७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयलाई अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन (अपानी) मार्फत सर्कुलर गरेका थिए ।
गण्डकी प्रदेशसभा सांसद मनाङेले सामाजिक सञ्जालमार्फत आफूसँग सल्लाह नै नगरी केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेकोप्रति असन्तुष्टि जनाए । उनले लेखेका छन्, ‘नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय वैठकको निर्णयअनुसार मलाई केन्द्रीय परिषद्को सदस्यमा मनोनित गरेको भन्ने सूचना प्राप्त भयो । यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरी गरिएको होइन । एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाई दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडि बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’
गत मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा मनाङबाट निर्विरोध निर्वाचित भएपछि मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
यसअघि केन्द्रीय सदस्यद्वय राजु गुरुङ र साबित्री मल्लले पार्टी परित्यागको घोषणा गरिसकेका छन् ।




प्रतिक्रिया