सुन तस्करी अनुसन्धानमा सीआईबीलाई कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

सुन तस्करी अनुसन्धानमा सीआईबीलाई कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धान ब्युरोलाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्‍याइमा पुग्न बारम्बार निर्देशन दिएको बताएका हुन् ।

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन, बरू तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरी अगाडि बढाऊ भनेर कडा निर्देशन दिएका छौं।

त्यस्तै बैठकमा नेकपा (एमाले)का रघुजीपन्त र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीलगायतका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेकाबारे समितिमार्फत सरकारलाई जानकारी गराउँदै त्यसबारे आवश्यक जानकारी माग गरेका थिए ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले भने, “जान/अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।”

उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “मूलभूतरुपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक, राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ । प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ, सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।”