बेइजिङ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदैछ ।
ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा हुने वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापारलगायत विषयमा छलफल गर्ने तयारी छ ।
त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।
नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन् ।
राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट दाहाल १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिबार हाङचउ पुगेका थिए । उद्घाटनको साइडलाइनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता भएको थियो। उनी असोज १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया