राहत शिक्षक र चिकित्सकका माग वार्ताबाट समाधान गर्नुपर्ने माओवादीको निष्कर्ष

राहत शिक्षक र चिकित्सकका माग वार्ताबाट समाधान गर्नुपर्ने माओवादीको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले संघीय संसद्मा पेश भएको संघीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै शिक्षकले केही दिन पहिले काठमाण्डु केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्किए पनि राहत शिक्षकले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

राहत शिक्षकले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाले बताए ।

उनले वार्ता र संवादबाटै सहमतिको विन्दु पहिल्याउन सकिने ठहर गर्दै बैठकले राहत शिक्षकले समेत अपनत्व महसूस गर्ने गरी विधेयकमा आवश्यक प्रक्रिया राख्न अनुरोध गरिएको बताए । बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मुलुकका विभिन्न भागमा सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि देखापरेको भन्दै माओवादी केन्द्रले समयमै सचेतता अपनाउनुपर्नेमा जोड दिएको छ । आमनेपालीमा सामाजिक सद्भाव असाध्यै राम्रो र बलियो रहे पनि केही स्थानमा अराजक संकेत देखापरेको ठहर गर्दै पार्टीले बेलैमा सचेतपूर्वक समस्या समाधानको दिशामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

पार्टीले अगाडि बढाएको जनतासँग माओवादी अभियानलाई थप प्रभावकारी बनाउने र जनताको विश्वास जित्ने गरी अगाडि बढ्नुपर्नेमा आजको बैठकमा विशेष जोड दिइएको उनले बताए । सरकारले अगाडि बढाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै प्रवक्ता सापकोटाले सरकारलाई साथ दिन समेत सबैलाई आग्रह गरेका छन् ।