रूकुम पश्चिम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव केही दिनमा नेपाल आउने बताएका छन् ।
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफीकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले महासचिव आउने बताए ।
उनले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो तर गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् तर उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु – यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन, कसैले भ्रम नपाल्दा हुन्छ ।’
अर्को प्रसङ्गमा उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा जाँदा मैले राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ । मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।’
‘कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।’
‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें । तपाईंहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो । शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु । यो आधार ईलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु । मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानून बनेको छ । लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका छन्, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको छ । देशको स्वाधीनता र समृद्धिका लागि कुटनीतिक पहल गरिएको छ ।’
अर्को प्रसङ्गमा प्रचण्डले भने, ‘विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं । अहिले अलिकति अनेकता देखिएको छ । फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं ।’
‘कर्णालीको विकास मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको छ । विकास निर्माणका धेरै काम भएका छन् तर ती पर्याप्त छैनन् । आगामी दिन रूकुमको विकास उच्च प्राथमिकतामा रहनेछ ।’
कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।




प्रतिक्रिया