विपक्षी दलका नेताको मर्यादाक्रम बढाइने, काठमाण्डुका मेयरको घटाइने

विपक्षी दलका नेताको मर्यादाक्रम बढाइने, काठमाण्डुका मेयरको घटाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम २ तह बढाउने सहमति राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा जुटेको छ ।

राष्ट्रिय सभामा विचाराधीन रहेको प्रस्तावित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’मा प्रतिनिधि सभाको विपक्षी दलका नेताको मर्यादाक्रम पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीकै लहरमा राख्ने सहमति जुटेको छ ।

हाल प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम ८औं नम्बरमा छ । अब विपक्षी दलका नेताको मर्यादाक्रम पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको जनाइएको छ ।

प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।

छैठौं नम्बरमा पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र मन्त्रिपरिषद्का अध्यक्ष छन् । सातौं नम्बरमा प्रदेश प्रमुख (आफ्नो प्रदेशभित्र) छन् ।

८औं नम्बरमा विपक्षी दलका नेताभन्दा अगाडि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर) छन् । त्यसपछि बल्ल विपक्षी दलको नेताको मर्यादाक्रम राखिएको छ ।

विचाराधीन विधेयकमा मर्यादाक्रम बदलेर विधायन व्यवस्थापन समितिले पूर्व प्रधानमन्त्रीको लहरमा लगेर विपक्षी दलको नेतालाई राख्ने गरी सहमति जुटाएको छ ।

काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) को मर्यादाक्रम भने घटाइने भएको छ । जिल्ला समन्वय समिति (जिसस) प्रमुखपछि महानगरपालिका प्रमुखको मर्यादाक्रम राखिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी जारी गरेको मर्यादाक्रममा काठमाण्डु महानगरपालिकाको प्रमुखको वरियता जिसस प्रमुखभन्दा अघि थियो । अब सबै महानगर प्रमुखको वरियता १७औं नम्बरमा हुने भएको छ ।

समितिले प्राध्यापक तथा शिक्षकलाई पनि राष्ट्रिय मर्यादामा राख्ने निर्णय गरेको छ । विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापक, मावि शिक्षक लगायतलाई मर्यादामा समावेश गरिने भएको छ ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने जानकारी दिइन् । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ पौने ५ बजे बस्ने तय भएको छ ।