राष्ट्रपतिको फोटो राख्न प्रधानमन्त्री प्रचण्ड धरान आउनुपर्ने मेयर हर्क साम्पाङको शर्त

राष्ट्रपतिको फोटो राख्न प्रधानमन्त्री प्रचण्ड धरान आउनुपर्ने मेयर हर्क साम्पाङको शर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान आउनुपर्ने शर्त राखेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न दबाब दिन आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग मेयर हर्कले पुस २० गते मनाउन लागिएको ‘धरान डे’मा प्रचण्ड धरान आउनुपर्ने शर्त राखेका छन् ।

उनले गत पुस १२ गते कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको तस्वीर हटाएर प्रथम किराँती राजा यलम्बरको तस्वीर झुण्ड्याएका छन् ।

केन्द्र सरकारले धरानलाई अधिकार नदिएको र हेपेको आरोप लगाउँदै उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् ।

धरानमा सक्रिय राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा लगायतले यलम्बरको फोटो हटाउन दबाब दिएपछि उनले नयाँ शर्त राखेका छन् ।

राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताले धरान उपमहानगरको कार्यालय घेराउ गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपासहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगरपालिका कार्यालय पुगेका थिए ।

तनाव बढ्दै गएपछि मेयर हर्क र राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको छ । छलफलका क्रममा मेयर हर्कले आफू कार्यकक्षबाट यलम्बरको फोटो हटाउन तयार रहेको तर पुस २० गते मनाउन लागिएको धरान डेमा प्रधानमन्त्री प्रचण्ड धरान आउनुपर्ने शर्त राखेका छन् ।