काठमाण्डु – सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहत स्वरूप १० लाख रुपैयाँ दिने भएको छ ।
गृह मन्त्रालयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ ।
गृह मन्त्रायले घटना सम्बन्धमा अध्ययन गर्न ३ सदस्यीय छानबिन समिति बनाएको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको ३ सदस्यीय छानबिन समिति बनाइएको छ ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन दिन भनिएको छ । गृह मन्त्रालयले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रका विषयमा राजनीतिक दलबीच भएको विवादपछि विरोध प्रदर्शन हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । घटनामा बरहथवा–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ ।




प्रतिक्रिया