भारतबाट बोका ल्याउनेसँग रकम असुली गर्दै प्रहरी

भारतबाट बोका ल्याउनेसँग रकम असुली गर्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् ।

जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् ।

उनले आफूजस्ता दर्जनौं व्यक्तिसँग प्रहरीले न्यूनतम ५० देखि १०० र कसैसँग १५० सम्म माग्ने गरेको बताए। त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरालगायतका नाकाबाट पनि दसैंको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन्।

प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए । त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ।

महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ। रासस