काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् ।
आज शुक्रबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निश्चित मापदण्ड तय गरेर मात्रै आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने बताए ।
राष्ट्रिय गौरवका आयोजनाको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको उनले बताए । उनले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनसाय नरहेको बताए । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरवका आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको उनले बताए ।
उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यहीँ बसेर काम गर्न अनुरोध गर्ने गरेको बताए ।
बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजनाको कामलाई महत्त्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद इन्दु कडरियाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराएकी छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी स्रोतसाधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । देशलाई समृद्ध बनाउनेभन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाइएको जिकिर गर्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।




प्रतिक्रिया