छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु


काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा२ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना घर भई काठमाण्डुको मूलपानी बस्ने २९ वर्षीय हरि यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित सडकमा ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कूलको बसको ठक्करबाट विद्यालयको नर्सरी कक्षामा पढ्ने तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

स्कूल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित सडकमा पञ्चपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा८१प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाराको फेटा गाउँपालिका–३ फेटा नहरस्थित सडकमा ना५८प १३३१ नम्बरको मोटरसाइकल र बीआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना५८प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका–३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बीआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।