काठमाण्डु- नेपाल राष्ट्र वैंकले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको छ। बैंकका अनुसार चालु आव २०८०-८१ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको हाे ।
यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो। यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा रु १८ अर्ब ५४ करोड बढी हो। गत वर्ष पाँच महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो।
यसरी वर्षेनी देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरुको भनाइ रहेको छ। प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा देशमा भएका अवसर र सम्भावनाहरुलाई युवाहरुले चिन्नुपर्ने बताउँछन्। उनले भने ‘अब देशमा अवसरको कमी छैन, उच्च महत्वकांक्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरुले देख्नु पर्छ। देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरु लाग्नुपर्छ।’
छ महिनामा पाँच सय ३९ जनाको मृत्यु
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ। त्यसैगरी वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दुई सय २१ रहेको छ।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन्। मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ।




प्रतिक्रिया