काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाेछ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।
काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौंको तापक्रम आइतबार त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आइतबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए । आइतबार सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री मापन भएको थियो ।
आइतबार तराईले भने केही राहत महसुस गरेको थियो ।
उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए । यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए ।




प्रतिक्रिया