तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सारूसहित इन्जिनीयर महेशसिंह कठायत, असिस्टेन्ट सब–इन्जिनीयर हस्तबहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लसहित १० जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

नगरपालिकाको ७ र ८ नम्बर वडास्थित ताल्चा–सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ समेत मानिसबाट गराएको पाइएको आयोगले जनाएको छ ।

कामको बढी मूल्यांकन गराई नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार ४५९ रुपैयाँभन्दा बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ ।

पिताम्बर सारू, महेशसिंह कठायत र हस्तबहादुर मल्लविरुद्ध २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि सोही बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।

सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी र सोही नगरपालिका इन्जिनीयर महेशसिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इस्टिमेटअनुसार कार्यसम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएकाले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सोही मुद्दामा नगरपालिका–८ का अध्यक्ष कर्ण रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीलाई पनि प्रतिवादी बनाएको छ ।

लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिश दिई भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।