काठमाण्डु – देशभर सवारीसाधन दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ ।
तीव्र गति, ओभरटेक लगायतका कारण हुने त्यस्ता दुर्घटनाबाट हुने धनजनको क्षति न्युनीकरण गर्न, सुरक्षित र सहजीकरण गर्न नेपाल प्रहरी चौबिसै घण्टा खटिएको जनाएको छ ।
चेतनामूलक कार्यक्रम, चेकिङ लगायत सडक व्यवस्थापनसँग सम्बन्धित सबै निकायहरूसँग समन्वयको साथै कानून बमोजिम गर्नुपर्ने सबै काम प्रहरीले गरिरहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म ६ महिनामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा १ हजार १३७ जनाको मृत्यु भएको छ । तीमध्ये ८५४ जना पुरूष, २०९ जना महिला, ५० जना बालक र २४ जना बालिका रहेका छन् । ती दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका थिए ।
घाइतेमध्ये ३ हजार २१३ जना गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका थिए । सडक विस्तार, कतिपय स्थानमा सडक मर्मत र गाडी थपिँदै गइरहेको अवस्थाले गर्दा दुर्घटना निम्त्याउने प्रहरीले जनाएको छ ।
दुर्घटना न्युनीकरण गर्ने सम्बन्धमा चालिएका कदमबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले भने, ‘डिजिटल प्रविधि, सीसीटीभी, ट्राफिक लाइट, मापसे चेकिङ लगायतका अवयव थप गर्ने विषयमा हाम्रो चासो छ, जसले अझै राम्रो किसिमले दुर्घटना नियन्त्रण गर्न सकिन्छ । सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूर्णरूपमा ईमान्दार भई काम गरेमा दुर्घटनामा कमी ल्याउन सहज हुने हाम्रो अपेक्षा छ ।’
समीक्षा अवधिमा देशभर १२ हजार ८५६ वटा सवारीसाधन दुर्घटना भएका थिए । जसमध्ये काठमाण्डु उपत्यकामा ५ हजार ८६५ वटा, कोशी प्रदेशमा १ हजार ६३९ वटा, मधेश प्रदेशमा ३ हजार १९० वटा, बागमती प्रदेशमा ७०६ वटा, गण्डकी प्रदेशमा १९५ वटा, लुम्बिनी प्रदेशमा ६०६ वटा, कर्णाली प्रदेशमा ४९५ वटा र सुदूरपश्चिम प्रदेशमा १६० वटा सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा ८७४ वटा ट्रक/ट्यांकर, २१३ वटा टिप्पर, ३५ वटा डोजर/लोडर/स्काभेटर, १ हजार ४९६ वटा बस, २९४ वटा माइक्रो बस, ४ हजार ६२५ वटा जीप/कार, ३२४ वटा ट्रयाक्टर, ७४१ वटा टेम्पो, ११ हजार ४० वटा मोटरसाइकल, ७९९ वटा शारीरिक शक्तिले चल्ने र ५८ वटा अन्य गरी जम्मा २० हजार ४१९ वटा सवारीसाधनहरू संलग्न रहेका थिए ।




प्रतिक्रिया