काठमाण्डु- सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद अच्युतप्रसाद मैनालीले सरकारको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा पुँजीगत शीर्षकमा १७ प्रतिशत बराबर मात्रै खर्च भएको विषय उठाए । विभिन्न सडकखण्ड तथा विकास पूर्वाधार आयोजनाको जग्गाको मुआब्जा वितरण गरिनुपर्ने उनले माग गरे ।
सांसद अम्मरबहादुर रायमाझीले पनि विकास खर्च न्यून देखिएको उल्लेख गर्दै पूर्वाधार आयोजना ठप्प प्रायः रहेको बताएका छन् । निर्माणाधीन आयोजनाको काम चाँडो गरिनुपर्ने उनको माग छ ।
सांसद डा अमरेशकुमार सिंहले पनि विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताए । निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको पनि उनले बताए ।
सांसद अञ्जनी श्रेष्ठले प्रस्तावित निजगढ-हेटौँडा-भरतपुर विद्युतीय रेलमार्ग निर्माण गर्दा मानववस्ती र घना आवासीय क्षेत्रमा असर पर्ने देखिएकाले अर्को विकल्प खोजिनुपर्ने धारणा राखिन् ।
सांसद अनिसा नेपालीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिस्पर्धी, व्यावसायिक र आधुनिक बनाउन आवश्यक रहेको बताइन । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको वृत्तिविकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
बर्दिया जिल्लामा बाघको आक्रमणको त्रास रहेको विषय सांसद अब्दुल खांनले उठाए । त्यस्तै, नारायणगढ–बुटवल सडकखण्डका निर्माणमा गति दिन पनि उनले सरकारसँग माग गरे।
सांसद अमनलाल मोदीले सहकारी संस्थाहरु धराशायी हुने क्रम देशभर देखिएको र सहकारी संस्थाका सञ्चालकको बदमासीमा कारण सर्वसाधारणको ठूलो रकम डुब्ने अवस्था देखिएकाले यसतर्फ ध्यान दिनुपर्ने कुरा शून्य समयमा उठाए ।
सांसद अशोक चौधरीले समावेशिताको अधिकार थारु समुदायले उपयोग गर्न नपाएको बताए। सङ्घीय निजामती विधेयकमा यो विषय सम्बोधन हुनुपर्ने उनको माग छ ।
संसद्को अघिल्लो बैठकको शून्य र विशेष समयमा उठेका कुरालाई सरकार र सम्बन्धित निकायबाट सम्बोधन हुन नसकेको विषय सांसद असीम शाहले आजको बैठकमा उठाए।
सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा सडक आयोजनाको निर्माण तथा स्तरोन्नतीको काम सुस्त देखिएको र किसानले सरकारी कम्पनीबाटै आफूले बेचेको दूधको मूल्य पाउन नसकेका विषय उठाए । सडक निर्माणको कामलाई तीव्रता दिन र किसानलाई उनीहरुले बेचेको दूधको रकम उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।
बर्दिया जिल्लामा यातायात कार्यालय नभएका कारण त्यहाँका नागरिक र यातायात व्यवसायीले भोग्नुपरेको समस्याको विषय सांसद गीता बस्नेतले उठाउँदै संसदमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद गोमा लाभ सापकोटाले अहिले पनि विद्यालय जाने उमेर समूहको करिब साढे आठ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भइरहेको विषय उठाए।
सांसद गङ्गाप्रसाद यादवले सिरहा जिल्लामा लागुऔषध कारोबार बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । अर्का सांसद जावेदा खातुनले बर्दिया जिल्लामा भारतसँगको खुला सीमाका कारण मानवतस्कर र लागुऔषध कारोबार बढेको बताएका छन् ।




प्रतिक्रिया