काठमाण्डु – विराटनगर महानगरपालिकाले भोलि बिहीबार बिदा दिएको छ ।
मोटरसाइकल दुर्घटनामा परी कर्मचारीको मृत्यु भएपछि महानगरले अत्यावश्यक सेवा बाहेकमा बिदा दिएको छ ।
मंगलबार राति मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा विराटनगर–३ नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटहरी गाउँपालिका–७ का ३२ वर्षीय मनोज विश्वास रहेका जनाइएको छ । मंगलबार साँझ ८ः१० बजेतिर ग्रामथान–२ सुखानी खोला छेउमा झोराहाटबाट थलाहातर्फ जाँदै गरेको को२३प ४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
आफैं अनियन्त्रित भएर मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएपछि चालक विश्वास गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका विश्वासलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो तर साँझ पौने ९ बजेतिर डाक्टरले उनलाई मृत घोषणा गरेका ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छ । तीव्रगतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले बिहीबार शोकसभा गरेर अत्यावश्यक सेवाबाहेक बिदा दिने निर्णय भएको जानकारी दिए ।




प्रतिक्रिया