आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ ।

आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका छन् ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले भने ।

‘ई-भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवानाहरु नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ ।  विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली  प्रारम्भ गरिएको जानकारी दिए । उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताए । विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ  ।

महानिर्देशक तामाङले सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए । “यस विभागबाट प्रदान हुने सबै प्रकारका सेवा अनलाइनमार्फत् स्वचालित रुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।