काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन् ।
एप्पल इन्टरनेसनल स्कूल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विद्यालय शिक्षण सिकाइको मन्दिर भएको बताइन् ।
मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गरिन् । संविधानले शिक्षा क्षेत्र स्थानीय तहलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताइन् ।
‘संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ,’ उनले भनिन्, ‘राज्यको संरचना अनुसार तीनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्छ । पाठ्यक्रमहरू पनि जीवनोपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ । माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ,’ उनले भनिन् ।
शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनले बताइन् । ‘शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छ,’ उनले भनिन्, ‘हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’
सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण पनि रूपमा समस्या उत्पन्न भएको हुनसक्ने बताइन् । ‘सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्रीज्यूले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुन सक्छ । सरकारी स्कूलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।’
बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताइन् । ‘तपाईंको बच्चा बन्नमा स्कूल परिवार पनि जिम्मेवार हुन्छ, सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । यी दुवै कुरामा तालमेल नमिलेमा बच्चाको पढाइ राम्रो हुँदैन ।’
विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताइन् । उनले भनिन्, ‘अहिले बच्चाहरू पनि अहिले विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्नेछ । हाम्रो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको छ ।’
भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिकाहरू नै भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकहरूमा छलफल भइरहेको समेत बताइन् ।




प्रतिक्रिया