काठमाण्डु – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने तयारी गरिएको छ ।
सरकारले मंगलबार ल्याएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमलाई जेठ ९ गते पारित गर्ने कार्यसूची प्रतिनिधि सभाले तय गरेको छ ।
प्रतिनिधि सभाको सम्भावित कार्यसूचीअनुसार भोलिदेखि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय भएको छ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
जेठ ९ गतेको बैठकमा शून्य समय, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ, प्राप्त संशोधन र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा तय भएको छ ।
जेठ १३ गते आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।




प्रतिक्रिया