काठमाण्डु – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबारै फैसला सुनाउने तयारी गरेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासले बुधबार सुनवाइ सकिएपछि बलात्कार भएको भनिएको होटलको सीसीटीभी भिडियो हेरेको छ ।
भिडियो हेरेसँगै न्यायाधीशहरू संक्षिप्त फैसला लेख्न थालेका उच्च अदालत स्रोतले जनाएको छ ।
गौशाला २६ लाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप उच्च अदालत गएका थिए । गौशाला २६ ले आफूमाथि काठमाण्डु महानगरपालिका–९ स्थित होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि सन्दीपमाथि मुद्दा चलेको थियो ।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ ।




प्रतिक्रिया