सुनसरी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगवती चौधरीले आगामी २०८४ सालको निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन् ।
नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको बताइन् ।
पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सकेमा आगामी निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउन कुनै पनि तत्वले रोक्न नसक्ने बताइन् ।
अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उनले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आश गरेको परिणाममुखी कामहरू, जनताले आश गरेका कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैं भन्दै आएको बताइन् । त्यसअनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरूले काम गर्नुपर्ने समेत मन्त्री चौधरीले बताइन् ।
उनले भनिन्, ‘पूर्व प्रधानमन्त्री एवं हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको छौं । हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्री, मन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ ।’
सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताइन् । उनले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्वसहमतिमा जोड दिइन् ।




प्रतिक्रिया