काठमाण्डु – तराई–मधेशका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री नाघेको छ ।
शनिबार पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ ।
तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई–मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने जनाइएको छ ।
तापक्रम बढेपछि शरीरमा पसिना आउने, पानीको कमी हुने, रगत जम्ने, घाँटीमा समस्या आउने, आँखा र छालामा समस्या आउने तथा कतिपयलाई ‘हिट स्ट्रोक’ भएर मुर्छा पर्ने, अपाङ्गता हुने तथा ज्यान जाने खतरा हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताए ।
संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्युनीकरण कार्यालयले तातो हावाको लहर अर्थात् ‘लू’लाई जलवायुजन्य विपद मानेको छ तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।




प्रतिक्रिया