काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अलग्याएर संसदीय छानबिन समिति गठन गर्नुको औचित्य नभएको बताएको छ । सहकारी ठगी प्रकरणको छानबिन समिति गठनको लागि टीओआरमा दलहरू सहमतिनजिक पुगेको भनेर सत्तापक्ष मूल मुद्दाबाट भागेको आरोप कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रमुख सचेतक लेखकले आफूहरूको मुख्य चासो नै रवि लामिछानेमाथि भएको भन्दै सरकारले गोलमटोल कुराकानी गरेको बताए ।
‘हाम्रो साथीहरू छानबिनका समितिको टिओआरमा छलफल गरेर आउनुभयो । तर सत्तापक्ष मूल मुद्दामा छलफल नै गर्न तयार छैन । किनकि हाम्रो मुख्य चासो गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ भन्ने हो,’ लेखकले भने, ‘यसबाट भागेर समस्या समाधान हुँदैन । कार्यदलमा जानुभएको साथीलाई हामीले त्यही भनेर पठाएका छौं । त्यो सहमति नहुँदासम्म संसद् चल्दैन ।’
कार्यदलमा रविको नाम उल्लेख नगरी समस्या भएका र रवि जोडिएका सुप्रिम, सूर्यदर्शनसहितका सहकारीको छानबिन गर्ने गरी टिओआरमा सहमतिनजिक पुगेको दाबी सत्तापक्षले गरेको थियो । तर मोटामोटी यो ड्राफ्टपछि कांग्रेसले छलफल गरेर मूल विषयबाटै सरकारी पक्ष भागेको आरोप लगाएको हो ।




प्रतिक्रिया