काठमाण्डु– सत्ता गठबन्धनलाई अझ बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।
१५ जेठमा आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने खाका कोर्न प्रधानमन्त्री व्यस्त रहेको निकटस्थ स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् अहिले प्रधानमन्त्रीसहित २२ मन्त्री र एक राज्यमन्त्री गरी २३ सदस्यीय छ ।
संविधानतः २५ सदस्यीय बनाउन मिल्छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीबाट एक÷एक मन्त्री थप्ने तयारी प्रधानमन्त्री दाहालको रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
जनमतबाट डा. राउत वा उनी निकट नेता र जनमुक्तिबाट रञ्जिता मन्त्री बन्न सक्ने स्रोतले बतायो । सो स्रोतले रञ्जितालाई उपप्रधानमन्त्री दिने बचन पनि प्रधानमन्त्रीले दिएको पनि बतायो । थपिएका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मा दिने र एक मन्त्रीलाई मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी विना विभागीय बनाउने तयारी प्रचण्डको छ । आजै उन्मुक्ति र जनमतले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ । यदि त्यसो भएको अवस्थामा मधेस प्रदेशको मुख्यमन्त्री समेत जनमतलाई दिने सहमति नेताहरुको बिचमा भएको छ ।
तीन मन्त्री थप गर्दा २६ सदस्यीय हुने र संविधानतः २५ सदस्यीय भन्दा ठूलो बनाउन नमिल्ने प्रावधान भएपछि एमाले र माओवादीबाट अहिले सरकारमा रहेका मन्त्री मध्यबाट एक\एक जना फिर्ता बोलाउने तयारी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मानेमा भागबण्डा अनुरुप सरकारमा रहेका मन्त्रीहरूबाट एक÷एक जना फिर्ता बोलाउने, यदि ओलीले नमाने माओवादीको भागमा परेको एक संख्या घटाउनेबारे पनि उनले छलफल चलाइरहेको बुझिएको छ ।
माओवादीले पुरानो सेट फिर्ता बोलाउने
सत्ताको नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट अघिल्लो गठबन्धन रहेका बेलाबाटै सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् । फिर्ता बोलाइने तीन मन्त्रीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा छन् ।
यी तीन मन्त्रीहरू अघिल्लो कांग्रेससँगको गठबन्धनमा पनि मन्त्री थिए । श्रेष्ठको मन्त्रालय फेरिए पनि अरु दुई जनाको मन्त्रालयसमेत उही थियो ।माओवादीमा उर्जामन्त्री बस्नेतको कार्यसम्पादन निकै कमजोर रहेको व्यापक गुनासो छ । त्यसैगरी परराष्ट्रमन्त्री श्रेष्ठसंग समेत प्रधानमन्त्री दाहाल सन्तुष्ट नभएको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री फिर्ता बोलाउने तयारी गरे पनि उपप्रधानमन्त्री श्रेष्ठले आफू सरकारमा रहिरहन प्रयास गर्ने निश्चित छ । तर, उनलाई पनि हटाएर नयाँलाई मौका दिने मनस्थितिमा प्रधानमन्त्री छन् । माओवादीबाट नयाँ मन्त्रीमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष जितेका, माधव सापकोटा, सिन्धुलीबाट प्रत्यक्ष जितेका राजन दाहाल र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बनाउने तयारी रहेको स्रोतले बताएको छ ।
एमाले र माओवादीबीच एउटा मन्त्रालय साटफेर हुने
निकटस्थ स्रोतले एमाले र माओवादीबीच एउटा मन्त्रालय फेरबदल हुने भएको छ । वर्तमान गठबन्धन निर्माण हुँदा नै परराष्ट्र मन्त्रालय एमालेलाई र खानेपानी मन्त्रालय माओवादीलाई परेको थियो । तर, नारायणकाजी श्रेष्ठका लागि एमालेले खानेपानी राखेर माओवादीलाई परराष्ट्र दिएको थियो । अब प्रधानमन्त्रीले श्रेष्ठलाई मन्त्रीबाट हटाएर भागबण्डा अनुरुप परराष्ट्र एमालेलाई र खानेपानी माओवादीलाई राख्ने तयारी पनि गरेको बुझिएको छ ।




प्रतिक्रिया