काठमाण्डु- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रियसभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताएका हुन् ।
“समस्या समाधानका लागि राष्ट्रियसभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भने ।
उनले महत्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले आजको बैठक स्थगित गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।




प्रतिक्रिया