सभामुख पार्टी कार्यकर्ताका रूपमा सदनमा प्रस्तुत भए : कांग्रेस

सभामुख पार्टी कार्यकर्ताका रूपमा सदनमा प्रस्तुत भए : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेलाई संसद्मा पार्टी कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएको छ ।

प्रतिनिधि सभा बैठकपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक–पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएर संसद्मा पार्टी कार्यकर्ताको व्यवहार देखाएको बताएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले संसद्मा बोल्न विपक्षी दलले प्राथमिकता पाउनु पर्ने भए पनि सभामुखले नदिएको आरोप लगाए ।

‘प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक(पटक बोल्न माग गर्‍यौं। तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन,’ प्रमुख सचेतक लेखकले भने, ‘सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो।’

सभामुखले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ भएको आरोप लेखकले लगाए । उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ। यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनःपुष्टि गरेको छ।’

कांग्रेस संसदीय दलले सभामुख घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहरसमेत गरेको छ ।

लेखकले भने, ‘सभामुखले गरिमा राख्नुपर्छ, कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा संसदमा प्रस्तुत हुने कुरा सभामुख पदका लागि शोभनीय हुँदैन।’

सोमबार प्रतिनिधि सभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास मत लिएका थिए।

सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। सत्ता पक्ष भने कांग्रेसको यो मागलाई बेवास्ता गर्दै आएको छ ।