काठमाण्डु– संसदीय छानबिन समिति निर्माण गर्दा त्यो समितिलाई दिने कार्यादेश बनाउन गठित कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।
गत शनिबार शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानुनमन्त्री एमाले नेता पदम गिरीको संयोजकत्वमा बनाएको कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल सदस्य छन् । कार्यदल सदस्य कांग्रेस सहमहामन्त्री परियारले आफूहरुको अडान कायमै रहेको जनाएका छन् ।
संसदीय छानबिन समितिको कार्यादेशमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडान राखिरहेको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन् । जसले गर्दा सहमति जुट्न सकेको छैन ।
आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी कार्यादेशबारे कार्यदलमा सहमति गर्न बैठक बसे पनि सत्ता पक्ष र प्रतिपक्ष टसिमस नभएपछि सहमति हुने सकेको थिएन । सहमति नजुट्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ ।
कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मंगलबार पनि वेल घेर्दै संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।




प्रतिक्रिया