काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति चासो व्यक्त गरेको छ ।
बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुरको कार्यालयमा पुगेर अनुगमन गरेको छ भने प्रदेश कार्यालय जनकपुरको टोलीले सिरोहियालाई प्रहरी हिरासतमा पुगेर भेटेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारणको वातावरण सुनिश्चित गर्न र सिरोहिया विरुद्धको छानबिनलाई निष्पक्ष बनाउन सरकारलाई आग्रह गरेको छ ।
नागरिकता कीर्तेको उजुरी परेपछि प्रहरीको आग्रहमा जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै मंगलबार सिरोहियालाई पक्राउ गरेर धनुषा पुर्याएको छ ।
आयोगले नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको छ भने धारा १७ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लेख गरिएको स्मरण गराएको छ ।




प्रतिक्रिया