काठमाण्डु – सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्न दलहरुबीच सहमति बने पनि समितिको कार्यादेशबारे कुरा मिल्न सकेको छैन ।
कार्यदलमा सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा टसमस नहुँदा कार्यादेश निर्माण गर्न बनाइएको कार्यदलमा सहमति बन्न सकेको छैन । संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा एमाले नेता पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको छ ।
गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन्।
कार्यदलको बैठक सहमति जुटाउन प्रयास गर्न भन्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्न बोलाइएको कार्यदल सदस्य कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
कार्यदलमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।
मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको थियो । कांग्रेस सांसद परियारले कार्यदलमा ठोस प्रस्ताव ल्याउन भनेको जानकारी दिए ।
कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
कार्यदल बैठकले सहकारीको बचत हिनामिना, ठगी, दुरुपयोग छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्नेछ ।
यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन्।
बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ।




प्रतिक्रिया