काठमाण्डु – संसद्मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बिहान ४० मिनेट भेटवार्ता भएको छ । संसद्को गतिरोध फुकाउनेबारे देउवासँग छलफल गर्न प्रधानमन्त्री बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेका हुन् ।
बिहान ९ बजेर १८ मिनेटमा देउवा निवास पुगेका प्रधानमन्त्री ९ बजेर ५७ मिनेटमा त्यहाँबाट बाहिरिएका थिए ।
सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने सत्तापक्ष र प्रतिपक्षबीच दुरी बढेको बेलामा देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवासमै प्ुगेका हुन् । यही विषयलाई लिएर गत २ चैतबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का बैठक अवरोध गरिरहेका बेला देउवालाई भेट्न प्रधानन्त्री बुढानीलकण्ठमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सहकारीको रकम अपचलनबारे समिति गठन गर्न मुख्य दलका शीर्ष नेताबीच सहमति बने पनि समितिको कार्यादेशमा भने दलीय सहमति बन्न सकेको छैन ।
शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरू टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो । कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुंगोमा पुर्याउने तयारी भइरहँदा देउवालाई भेटन प्रधानमन्त्री बुढानीलकण्ठ पुगेका हुन् ।
संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको छ । यस बीचमा कांग्रेसले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिए पनि त्यसमाथि छलफल हुन सकेन ।
जेठ १५ अघि सत्तापक्ष र काङ्ग्रेसबिच सहमति हुन सकेन भने आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने संसदीय अभ्यासमा प्रभाव पर्ने देखिएको छ । त्यसैको उत्तरार्धमा प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दलका नेतालाईै भेट्न उनकै निवासमा पुगेका हुन् ।




प्रतिक्रिया