काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा बताएकी छिन् ।
बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शर्माले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागिरहेको बताएकी छन् ।
‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ,’ मन्त्री शर्माले भनिन् । शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन उनको भनाइ छ ।
शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने मन्त्री शर्माले बताइन् । शर्माले भनिन्, ‘यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ ।’
वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उनको भनाइ थियो । हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गरेको योगदानको उच्च मूल्यांकन गर्नुपर्नेमा जोड दिइन् ।




प्रतिक्रिया